एनआरएनए विवाद समाधान गर्न सहमहान्यायाधिवक्ता चौहानको संयोजकत्वमा समिति गठन गर्ने निर्णय



काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा रहेका विवाद समाधान गर्नका लागि महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले एनआरएनएको निर्वाचन विवाद र लेखा तथा काम कारबाहीको बारेमा अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।


सहमहान्यायाधिवक्ता चौहान संयोजक रहने उक्त समितिमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरिक्षक र उपसचिव (लेखा) सदस्य रहनेछन् ।

‘गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन लगायतका विषयमा परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी÷ निवेदनहरु र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवादको सम्बन्धमा र संघको लेखा तथा काम कारबाहीको सम्बन्धमा छानविन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरिक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानविन समिति गठन गर्ने,’– निर्णयमा भनिएको छ ।