काठमाडौं । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बिहीबार काठमाडौंको अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाईं र सुनसरी घर भई बौद्ध नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ बरामद गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । प्रसाईंको घरमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा सुरुमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनीमाथि सोधपुछ गरी प्रहरीले नयाँ बस्तीबाट राईलाई पक्राउ गरेको थियो । उनको कोठामा तलासी लिँदा प्रहरीले स्रोत नखुलेको ३० लाख १८ हजार रुपैयाँ बरामद गरेको थियो । प्रहरीले उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ ।