सूर्योदयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’



फिक्कल । इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो ।

उक्त कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए । कार्यविधिअनुसार प्रत्येक विद्यार्थीले अनिवार्य बैंक खाता खोलेर दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिने भएको छ । 


विद्यार्थीलाई बचत गर्ने बानी विकास गर्न यस्तो कार्यक्रम ल्याइएको उनले बताए। उक्त कार्यक्रममा कक्षा एकदेखि छ सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन्  । नगरपालिकाले  सामुदायिक विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय वाणिज्य बैंक र संस्थागत विद्यालयका विद्यार्थीका लागि हिमालयन बैंक लिमिटेडसँग सम्झौता गरेर काम अगाडि बढाएको छ ।

कार्यक्रमअन्तर्गत नगरभित्रका सबै विद्यार्थीले बैंक खाता खोलिसकेका छन् । सामुदायिक विद्यालयका एक हजार ५० र संस्थागत विद्यालयका दुई हजार दुई सय विद्यार्थीले बैंक खाता खोलिसकेको युवा, खेलकुद तथा शिक्षा शाखाप्रमुख योगनिधि भट्टराईले बताए ।

उक्त नगरपालिकामा एक क्याम्पस, ६३ वटा सामुदायिक विद्यालय, ३० वटा संस्थागता विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् ।