सूर्यदर्शन सहकारीको रकम हिनामिनाका दुई आरोपी अदालतमा उपस्थित



पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका दुई जना अदालतमा हाजिर भएका छन् । शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र आइटी प्रमुख भविश्वर अर्याल मंगलबार जिल्ला अदालत कास्कीमा हाजिर भएका हुन् ।

दुवैजनाको मंगलबार अदालतमा बयान लिइएको छ । बयान नसकिएपछि बुधबार पुनः बयान लिने र थुनछेक बहस चल्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । सूर्यदर्शन सहकारीको ठगी आरोपमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।


सुरुमै कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाएको छ । उपाध्यक्ष कैलाशकुमार दर्लामी पनि सोमबार कारागार चलान भएका छन् ।

सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ जोखिममा पारेको छ । सूर्यदर्शन सहकारीविरुद्ध १ हजार ३५ जनाले १ अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित जाहेरी दिएका छन् ।