सुन तस्करी प्रकरण: सीआईबी प्रमुख बज्राचार्य र गोरेसँग छानबिन समितिले लियो बयान



काठमाडौं । गत साउन २ गते त्रिभुवन् अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएको ६१ किलो सुन बरामद प्रकणमा छानबिन गर्न गठित समितिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की प्रमुख एआइजी किरण बज्रचार्यसँग बयान लिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जना आरोपीत प्रहरी कार्यालयबाट छुटेको विषयमा उनीसँग बयान लिईएको स्रोतले जनाएको छ । बयानमा प्रमुख बज्रचार्यले आफूलाई सो विषय जानकारीमा नभएको बताएकी छन् ।


यस्तै समितिले ३३ किलो सुन प्रकणमा थुनामा रहेका चुडामणी उप्रेती गोरेसँग पनि बयान लिएको छ । गोरे हाल सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन् । उनलाई कारागारबाट झिकाएर बयान लिईएको हो ।

जाँचबुझ समितिले केहि दिनअघि भन्सार विभागका महानिर्देशक झलकराम अधिकारीसाग पनि बयान लिएको थियो । भन्सार विभागको महानिर्देशक रहेको बेलामा उनले सुन तस्करी प्रकरणका मूख्य आरोपीत दावा छिरिङसँग कुराकानी गरेको तथ्य बाहिरिएको थियो । सो प्रकरणपछि उनी जिम्मेवारीबाट हटेका थिए ।

साउन २ गते बाहिरिएर ३ गते बरामद सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २ महिनासम्म् सदन अवरुद्ध गरेको थियो । एमालेले निरन्तर सदन अवरुद्ध गरेपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

सरकारले सुनतस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरुसँग बयान लिइरहेको छ ।