सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले प्रदेशका समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा सदस्यले सरकारले अनुदान रोक्दा बन्द हुन लागेको बयलपाटा अस्पतालका लागि तत्काल बजेटको व्यवस्थापन गरी नियमित सञ्चालन गर्न, कतिपय मानव बस्तीमा जङ्गली हात्तीले पु¥याइरहेको धनजनको क्षति रोकथाममा पहल गर्न, बाढीपहिरो पीडितका लागि उचित बसोबास र राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।


उनीहरुले भूक्षयको रोकथाममा पहल गर्न, प्रदेश स्थायी राजधानी निर्माणमा चासो दिन, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी दिन, आगलागी पीडितलाई राहत दिन, भूकम्पले क्षति पु¥याएका विद्यालयलगायतका संरचनाको पुनःनिर्माणमा ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा प्रदेशसभा सदस्य जानकीदेवी ऐर बम, प्रकाश बम, वीरबहादुर थापा, मानबहादुर रावल, ललिता सुनार, शिवसिंह ओली, सन्तोषकुमारी शर्मा थापा, मेघराज खड्का, सरस्वती खड्का र हीरा सार्कीले आ–आफ्नो धारणा राखेका थिए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सभा समक्ष टेबुल गरे ।

प्रदेशसभाको अर्को बैठक यही माघ १२ गते बस्नेछ । प्रदेशसभाको तेस्रो अधिवेशन यही माघ ५ गते सुरु भएको थियो ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको गत पुसमा एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेशसभाको पहिलो र दोस्रो अधिवेशन सम्पन्न भइसकेको भए पनि नयाँ कुनै कानुन बन्न सकेका छैनन् ।