रत्ननगर (चितवन)। भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग ‘मेयर स्वास्थ्य कार्यक्रम’बाट नौ हजारबढी नागरिक लाभान्वित भएका छन् । नगरका २९ वडामा सञ्चालित उक्त कार्यक्रमबाट अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका जनाइएको छ ।
भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत ज्येष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्य सम्बन्धी रोग देखिएको छ ।
अभियानमा चिकित्सक र स्वास्थ्यकर्मी टोलटोलमा पुगेर प्रयोगशालासहित सेवा दिएका थिए । यसका लागि एक सय दुईजना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
हालसम्म नौ हजार चार सय १८ जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए ।
स्वास्थ्य जाँचबाट बिरामीले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरे पनि काम गरे/नगरेको बारे पुनः परीक्षण नगरेको पाइएको उनले बताए ।
कतिपयमा मधुमेह तथा उच्च रक्तचाप रोग भए पनि जानकारी नभएकोसमेत पाइएको अधिकृत भट्टले बताए ।
स्वास्थ्य जाँचपछि ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्तलाई मधुमेह, उच्च रक्तचापका सुरुवाती चरणमा दिइने औषधि दिएको छ । औषधिसँगै जीवनशैली र खानपानबारे परामर्श पनि दिइएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खुसी र सुखी भरतपुर निर्माण गर्न समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
भरतपुरवासीलाई प्रत्यक्ष महसुस हुने गरी घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएको उनको भनाइ थियो । “जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने उद्देश्यले महानगरका सबै वडामा अभियान चलाएको हो”, उनले भनिन् ।
गत मङ्सिर २० गते भरतपुर वडा नं २४ बाट उक्त अभियान सुरु भएको थियो । स्वास्थ्य जाँचबाट समस्या देखिएका बिरामीको थप उपचारका लागि शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्यचौकीमा व्यवस्था मिलाइएको थियो ।
अभियान माघ मसान्तसम्म सञ्चालन गरिने महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए ।
अभियानले भरतपुरमा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्तको वास्तविक स्वास्थ्य अवस्थाको तथ्याङ्क सङ्कलन गरेकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्ययोजना बनाउँदा धेरै सहयोग पुग्ने उनको भनाइ थियो ।
उक्त कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको थियो ।