सत्ता गठबन्धनले भन्यो– कोशीको परिणाम अप्रत्याशित, गम्भीर रुपमा छलफल हुन्छ



काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणाम अप्रत्याशित भएको ठहर गरेको छ । राष्ट्रियसभाको निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कोशीमा आएको परिणाम अप्रत्याशित भएको ठहर गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोशीमा आएको परिणामको बारेमा प्रारम्भिक छलफल भएको बताए । कोशीमा दुई सदस्यका लागि भएको निर्वाचनमा कांग्रेस उम्मेदवार कृष्ण सिटौलाले जितेका थिए भने महिलातर्फको सीटमा माओवादी उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मेदवार विजयी भएकी थिइन् ।


अपेक्षाअनुसारको परिणाम नआउनु गम्भीर र चिन्ताजनक भएको भन्दै नेता लेखकले त्यसको बारेमा गम्भीर रुपमा छलफल भएको बताए । यस्तै, उनले यो विषय गठबन्धनकै सरोकारको विषय भएको भन्दै यसले गठबन्धनमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताए ।

उनले भने, ‘यो कन्सर्न प्रधानमन्त्री वा सभापतिको मात्रै नभएर समग्रतामा गठबन्धनकै कन्सर्न हो । किनभने सबैको साझा उम्मेदवार भएको हुनाले यसमा कसका के भन्दा पनि समग्रतामा विश्लेषण गरेका छौं । गठबन्धन एकमुष्ट छ, एकीकृत छ, गठबन्धनमा यसले कुनै प्रतिकूल प्रभाव पार्ने अवस्था छैन ।’

उनले फ्लोर क्रसका विषयमा आगामी दिनमा विश्लेषण हुने बताए ।