सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध



फिक्कल (इलाम) । इलाममा निर्माणाधीन देउमाई–फाकफोक दोभान– नावालुङ– देउराली– हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिका–१ मा पर्ने सो सडक खण्डको सब–बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् ।

निर्माणमा संलग्न कम्पनीले लापरबाही रुपमा काम गरेको उनीहरुको आरोप छ । उनीहरुले गुणस्तरहीन काम रोक्न ठेकेदार कम्पनी देउमाई निर्माण कम्पनीलाई चेतावनी दिएका छन् । देउमाई–फाकफोक दोभान– नावालुङ–देउराली–हुलाक सडक आयोजनाको करिब पाँच किलोमिटर सडक सब–बेसमा गुणस्तरहीन सामग्री प्रयोग माङसेबुङ गाउँपालिका–१ का वसन्त योङहाङले बताए ।


स्थानीयवासीले वडाध्यक्ष भूपाल योङहाङ र प्राविधिक कर्मचारी दीपक चौधरीसहित स्थानीय राजनीतिक दलहरुलाई अनुगमन र निरीक्षणसमेत गराएका छन् । ठेकेदार कम्पनीले सब–बेसमा खोलाको ढुङ्गा–गिटी–बालुवा (रिभरबेस) हाल्नुपर्नेमा खानीको माटो प्रयोग गरेको योङहाङले बताए । “हामीले पहिलेदेखि नै ठेकेदार कम्पनीलाई गुणस्तरीय काम गर्न अनुरोध गरेका हौँं तर उहाँले बेवास्ता गर्नुभयो” स्थानीय योङहाङले भने, “ठेकेदार कम्पनीले सब–बेसमा माटो मात्र प्रयोग गरेका छन् । विच्छ्याएको सब–बेस हातले कोट्याउँदा माटो निस्कन्छ । यस्तो तरिकाले त राज्यको पैसा दुरुपयोग भएको छ ।”

उनले छिट्टै सरोकारवालाको दबाब समूह गठन गरी गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिने र भुक्तानी रोक्न गाउँपालिकामा अनुरोध गर्ने तयारीमा रहेको बताए । वडाध्यक्ष भूपाल योङहाङले अनुगमनका ठेकेदार कम्पनीको लापरबाही देखिएको बताए । अनुगमन र निरीक्षणका क्रममा ठेकेदार कम्पनीले खोलाको ढुङ्गा–गिटी–बालुवा प्रयोग गर्नुपर्नेमा स्थानीय घोर्लेभीर (खानी) को माटो प्रयोग गरेको पाइएको प्राविधिक कर्मचारीले बताए ।

यता ठेकेदार कम्पनी देउमाई निर्माण सेवाका प्रोपाइटर रमेश बस्नेतले भने गुणस्तरहीन सामग्री नै प्रयोग गरिएको जिकिर गरे । उनले खोलाको मात्र ढुङ्गा–गिटी–बालुवा प्रयोग गरे बाटो बलियो नहुने भएकाले खानीको माटो पनि मिसाउनुपरेको बताए ।