संयुक्त राष्ट्रसङ्घलाई ५० करोड डलर आवश्यक



संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले युद्धको ‘गहिरो घाउ’ ले क्षतिग्रस्त संसारमा मानवअधिकारलाई अगाडि बढाउन यस वर्ष आफ्नो कामका लागि ५० करोड अमेरिकी डलरको आवश्यकता रहेको बताएको छ ।

राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले आफ्नो काम अघि बढाउन ५० करोड डलर आवश्यक रहेको बताएका हुन् । मानवअधिकार उच्चायुक्त कार्यालय (ओएचसिएचआर) मा ९१ मुलुकमा एक हजार नौ सय ६२ कर्मचारी छन् ।


ओएचसिएचआरले गत वर्ष १३ हजार चार सय ७६ बन्दीको रिहाइ सुनिश्चित गर्न सहयोग गरेको, तीन हजार छ सय ६४ अनुगमन मिसन सञ्चालन गरेको र ४३ मुलुकमा कानून र नीतिहरूको सुधारमा योगदान गरेको बताएको छ ।

टर्कले जीवन परिवर्तन गर्न र विश्वभर सामना गरिरहेका केही मानवअधिकार चुनौतीहरूलाई सम्बोधन गर्ने क्षमतालाई ‘पर्याप्तरूपमा बढाउन’ ओएचसिएचआरलाई ५० करोड डलरको आवश्यकता रहेको बताए ।

सदस्य मुलुकहरूले गत वर्ष ओएचसिएचआरमा स्वैच्छिक योगदानका रूपमा २८ करोड ३२ लाख डलर योगदान गरेका थिए । उक्त रकम ओएचसिएचआरले मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सव मनाउनका लागि अनुरोध गरेको ४५ करोड २० लाखभन्दा धेरै कम हो । ओएचसिएचआरलाई सहयोग गर्ने शीर्ष दाताहरूमा युरोपेली सङ्घ (इयु), अमेरिका, स्विडेन, जर्मनी र नर्वे थिए ।