संघीय संसदका विभिन्न चार समितिका बैठक बस्दै



काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको २३औँ बैठक आज बस्दैछ ।

आज बिहान संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवाला संघ–संस्थालगायतसँग छलफल गर्ने कार्यसूची रहेको समितिका सचिव अधि राज राईले जानकारी दिए ।


यस्तै, आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यता, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ । दिउँसो साढे १ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपालमा जनसङ्ख्याको हालको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारीका सम्बन्धमा छलफल हुनेछ ।