विद्युत निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गाः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताएका छन् ।

रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सो सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरे ।


आफ्नो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आजको सहमतिसँगै विद्युत् निर्यात गर्ने बाटो खुलेको बताए । “यो आफैँमा उपलब्धि हो, भारतमा मात्रै होइन, बङ्गलादेशमासमेत विद्युत् निर्यातको ढोका खुलेको छ”, उनले भने, “अब भारतको ग्रीड प्रयोग गरी बङ्गलादेशसँग विद्युत् व्यापार हुनेछ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले संसद्को प्रभावकारी सञ्चालन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम टुङ्गोमा पुर्याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमतिको आवश्यकता महसुस गरेको बताए ।

“सानो दुःखले वर्तमान गठबन्धन बनाएको होइन, गठबन्धनलाई मजबुद बनाउन हामी दृढ छौँ”, उनले भने, “तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, सदनको प्रभावकारी सञ्चालन र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति चाहेका छौँ ।”

प्रधानमन्त्री दाहालले सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति गरेको उल्लेख गर्दै सेवा प्रवाह, शिक्षा, स्वास्थ्यको विकास, कृषि, पर्यटनको प्रवद्र्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिलाई अपील गरे ।