विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गरौँ : उपप्रमुख डङ्गोल



काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई विपद्सँग जुध्ने संरचनाको पहिलो प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने बताएकी छिन् ।

मंगलबार भूकम्प दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले धेरै मानिसहरूको सङ्ख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताएकी हुन् ।


विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताउदै डंगोलले भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने पनि बताइन् । 

उनले भनिन, ‘भूकम्पबाट हाम्रो देश धेरै नै जोखिममा छ। हाम्रो देश भूकम्पको जोखिममा विश्वमा ११औँ नम्बरमा पर्छ। त्यो भनेको नेपालमा कुनैपनि बेला भूकम्प आउन सक्छ। त्यसका लागि महत्त्वपूर्ण पाटो सबै सधैँ तयार हुनुपर्छ । पूर्व तयारीलाई काठमाडौँ महानगरले प्राथमिकतामा राखेको छ । विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्बाट जुध्न थेग्ने संरचना निर्माण गरौँ।’