लगानीकर्ताले अब निर्धक्क भएर लगानी गर्दा हुन्छः अर्थमन्त्री महत



नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले लगानीकर्ताले विविध क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् ।   सम्पादक समाज नेपालद्धारा शनिबार आयोजित गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सम्मान समारोहमा मन्त्री महतले सम्भावना बोकेका नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा देखिएको अन्यौल समाप्त हुँदै गएको भन्दै मन्त्री महतले लगानीका लागि विश्वासको वातावरण बनेको  बताए ।

“आगामी दिनमा अर्थतन्त्रमा सुधार हुँदैछ । आर्थिक गतिविधि पहिलेको तुलनामा बढ्छ, लगानीकर्ताले पनि निर्धक्क लगानी गर्दा हुन्छ, ब्याजदर पनि घटेको छ”, अर्थ मन्त्री महतले भने, “तर सुझबुझ ढङ्गबाट लगानी गर्नुपर्यो । कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउने सम्भावना हुन्छ त्यसमा ध्यान दिनुपर्छ । एउटाले राम्रो गरे सबैले त्यही गर्ने हुँदा मागभन्दा पूर्ति धेरै भई सबै अप्ठ्यारोमा पर्न थाल्छ । त्यसकारण नयाँ क्षेत्र खोज्नुहोस् ।”


उनले आगामी वर्षको वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा विदेशीको चासो व्यक्त भएको बताए । यस्तै असारमा विश्व बैंकको सम्मेलन आयोजना गर्ने तयारी भएको पनि अर्थमन्त्री महतले जानकारी दिए ।

सम्मान समारोहमा पुरस्कृत हुने पत्रकारलाई शुभकामना दिँदै मन्त्री महतले पत्रकारिता क्षेत्रको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने, “पत्रकारिता क्षेत्र समस्यामा छ । तर यसको कारण देशको आर्थिक स्थिति मात्र होइन । मुख्य कारण सामाजिक सञ्जाल हो । मूलधारका आमसञ्चार माध्यम जोखिममा पर्दै गएका छन् । त्यसमा पनि सामाजिक सञ्जालमा आउने मिथ्यापूर्ण सूचनाले झुठोलाई सत्य जस्तो स्थापित हुने र सत्य गुम्राहमा पर्ने खतरा बढेको छ । मानिस गम्भीर विषयको गहिराईमा जान छाडे, यो अत्यन्त खतरनाक प्रवृत्ति हो ।”

पत्रकारिता क्षेत्रको सबै प्रकारका समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता समेत मन्त्री महतले व्यक्त गरे ।