‘रिभरगाइड’ मजदुरद्वारा पारिश्रमिक वृद्धि गर्न माग



चितवन । जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन्  । उनीहरुले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन् । चितवनको इच्छाकामना–३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान) को १५औँ साधारणसभाले कम्तीमा रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्र्ने निर्णय समेत गरेको छ ।

हर्गानका उपाध्यक्ष डोलबहादुर  गुरुङले अनुसार  जलयात्रा मजदुरले हाल दैनिक ज्याला रु दुई हजार पाँच सय पाउँदै आएका  छन् । साथै साधारणसभाले धेरै दिनको यात्रामा जान परेमा रिभरगाइडको दैनिक ज्याला रु चार हजार हुनुपर्ने माग गर्ने निर्णय गरेको उनले बताए । 


काममा लामो समय खटिनुपर्ने भएकाले हाल पाइरहेको दैनिक पारिश्रमिक कम भएको उनीहरुको भनाइ छ । लामो समयदेखि रिभरगाइडको काम गर्दै आएका  चितवनका मिलन गुरुङले बिहानदेखि राति अबेरसम्म खटिनुपर्ने भएकाले हाल जलयात्रा पर्यटन व्यवसायीहरुले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा वृद्धि गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।  

उनले भने, “पर्यटकलाई  बिहानदेखि बेलुका अबेरसम्म समय दिनुपर्ने हुन्छ, दिनभर जलयात्रा (राफ्टिङ गराएर  होटलसम्म पु¥याउनुपर्ने हुन्छ, सधैँ काम हुँदैन ‘सिजन’मा मात्र हुने कमाईले दैनिक गुजारा चलाउनसमेत कठिन हुन्छ ।”

त्रिशूली नदीमा निर्माणाधीन  सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न पनि रिभरगाइडले  माग गरेका छन् । सो स्थानमा बन्ने हाइड्रो पावरले  त्रिशूली नदीको जलयात्रामा आश्रित  स्थानीय ७० जनाभन्दा बढीको रोजगारी नै गुम्ने रिभरगाइड गुरुङको भनाइ छ ।

साथै सो आयोजनाका कारण एक सय ५० भन्दा रिभरगाइडको रोजगारीमा असर पुग्ने उनको भनाइ छ । जलयात्राका लागि विश्वमै उत्कृष्ट मानिने त्रिशूली नदीको सौन्दर्यता बिग्रनाका साथै जलयात्रा व्यवसायी  र त्यसमा आश्रित मजदुरको रोजीरोटी खोसिने हर्गानको ठहर छ ।

त्रिशूली नदी बचाउनका लागि  सम्बन्धित निकायमा खबरदारी गर्नेलगायत  सङ्घर्षका कार्यक्रमहरु गर्ने जनाएको छ । यसअघि पनि  जलयात्रा मजदुर र व्यवसायीले विरोधस्वरुप  राजमार्गमा पदयात्रा गरेका थिए ।