राष्ट्रिय सभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै



काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ। सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको नियुक्ति गर्न लागिएको हो।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने र माघ ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम रहेको छ। निर्वाचनमा भाग लिने प्रयोजनका लागि यसअघि नै आयोगमा दल दर्ता भैसकेका छन्।


आयोगले ७ वटा प्रदेशका २-२ ठाउँमा गरी १४ ठाउँमा मतदान केन्द्र तोकिसकेको छ। १९ जनाको निर्वाचनका लागि ५४९ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवम अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने पनि आयोगले जनाएको छ।

निर्वाचन नजिकिएसँगै आयोगमा दर्ता भएका राजनीतिक दलहरुले उम्मेदवारको छनोट गर्ने तयारी गरिरहेका छन्। राष्ट्रिय सभामा रिक्त रहने २० सदस्यमध्ये १९ जनाको निर्वाचनबाट र एक जनाको मनोनयनबाट पदपुर्ति हुने पनि आयोगले जानकारी दिएको छ।