सुर्खेत । राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सकिएको छ । तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको थियो । कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदाता छन् । प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्षअगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको हो । कर्णालीमा दलित, महिला र अन्य तर्फ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णुबहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् । एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।
सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार संख्या छ । भने एमालेको मतभार संख्या एक हजार १९५ छ ।