युक्रेनका पाइलटहरूलाई विमान प्रयोगमा प्रशिक्षित गर्न सहयोग पुर्याउन डेनमार्कमा दुई एफ–१६ लडाकू जेट पठाउने नर्वे सरकारले बताएको छ । गतवर्ष नर्वेले डेनमार्क र नेदरल्यान्ड्स जस्ता मुलुकसँग मिलेर युक्रेनलाई एफ–१६ लडाकू जेट दान दिएका थिए ।
अत्याधुनिक एफ–३५ ले प्रतिस्थापन गर्नका लागि ती मुलुकले एफ–१६ लाई अवकास दिएका थिए । यद्यपि ओस्लोले अहिलेसम्म दान दिइने एफ–१६ को सङ्ख्या र डेलिभरीको तालिका घोषणा गरेको छैन । युक्रेनलाई दिइने एफ–१६ विमान सीमित सङ्ख्यामा हुने अपेक्षा गरिएको छ ।
नर्वेका रक्षामन्त्री ब्योर्न एरिल्डले युक्रेनका लागि दिगो र आधुनिक वायु सेना स्थापना गर्ने लक्ष्यका लागि सहयोगी साझेदार र राज्यहरूले दिनरात काम गर्ने बताएका छन् ।
स्क्यान्डिनेभियाली मुलुक नर्वेले यसअघि नै करिब १० प्रशिक्षकका साथ प्रशिक्षण कर्मचारी आपूर्ति गरिरहेको छ । नर्वेली एफ–१६ लडाकू जेटलाई अझै अनिश्चित अवधिका लागि डेनिस स्क्रिडस्ट्रप्स विमानस्थलमा तैनाथ गरिनेछ । त्यहाँ युक्रेनी पाइलटहरूलाई बहुराष्ट्रिय अपरेसनको हिस्साका रूपमा प्रशिक्षित गरिनेछ ।