काठमाडौं । देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरुको सम्मानमा साताव्यापी मनाइएको शहीद सप्ताहको आज मुख्य दिन मंगलबार शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
काठमाडौं महानगरपालिकाले लैनचौरमा आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि उच्च तहका अधिकारीलगायत आम नागरिकले शहीदप्रति श्रद्धा,सम्मान प्रकट गेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले शहीदहरूले देखेका सपना र उनीहरूले गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताए ।
शहीदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने जनाउँदै प्रधानमन्त्रीले शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे । उनले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ मा आफ्नो जीवनको बलिदान गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको स्मरण र सम्मान गरे । प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउँदै आइएको छ ।