महाबौद्धबाट २० लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुईजनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–५ घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका–४ घर भई हाल काठमाडौँ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।


उनका अनुसार काठमाडौँ महानगरपालिका–२२ महाबौद्ध क्षेत्रमा भीमसेन गौतम समेतका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा निजहरुलाई पक्राउ गरिएको हो । प्रहरीले गौतमका साथबाट नेपाली एक हजार दरका ६ सय थान नोट, र  पाँच सय दरको चार सय थान नोट गरी  आठ लाख बरामद गरेको छ ।

यसैगरी राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैङ्क तथा सहकारीको १७ वटा चेकमा उल्लिखित रकम  सात लाख ९७ हजार र नगद नेपाली  एक हजार दरको ३९ थान नोट र पाँच सयका दरको एक हजार ७२ थान नोट गरी जम्मा पाँच लाख ७५ हजार फेला परेको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडाँै पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।