काठमाडौं । भन्सार विभाग घेराउका क्रममा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । यस्तै प्रहरीको धरपकडमा १ जना घाइते भएका हुन् ।
भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार भन्सार विभाग घेराउ गर्दै आएको छ । सोही क्रममा बुधबार विभाग घेराउ गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
आजपाका अध्यक्ष प्रभु साहले भन्सार घेराउका क्रममा प्रहरीको धरपकड गर्दा तिलक थापा मगर, रञ्जु साह, आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ पक्राउ परेका बताए । पक्राउ परेको मध्ये रञ्जु घाइते छन् । उनको खुट्टामा चोट लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
पुरस्कारको नाममा भन्सारबाट उठेको रकमको ४५ प्रतिशत सिधै भ्रष्ट कर्मचारी एवं मन्त्रीको खातामा गइरहेकोले राजस्व उठाउने राज्यको लक्ष्य समेत पुरा हुन नसकेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।
आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ ।
आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीले दिएका छन् । आजपाको आहवानमा शुरु भएको आन्दोलन झण्डै ४ महिना पुगी सक्दा समेत सरकारले कुनै सुनवाई नगर्दा आन्दोलनकारीले दुःख व्यक्त गरेका छन् ।
भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध बिभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ हुँदै आएको छ । कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पत्ति जफत गर्ने प्रावधान हटाउनुपर्ने माग आन्दोलनकारीको छ ।
यसैगरी भन्सारबाट उठेको राजश्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने ब्यवस्था गर्नुपर्ने, घरायसी प्रयोजनको लागि ल्याइने बस्तुमा भन्सार कर लगाउने व्यवस्थाको अन्त्य हुनुपर्ने माग उनीहरूले गरेका छन् ।
आजपाले गत ३१ भदौमा भन्सार विभागका महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरु गरेको सङ्घर्षको पहिलो चरण अन्तर्रगत गत ३ असोजमा पत्रकार सम्मेलन, १८ असोजमा नियमावलीको गलत प्रावधान जलाइएको, १९ असोजमा तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरेको थियो ।
तर सरकारले आफ्नो मागको कुनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप सङ्घर्षको कार्यक्रम अगाडि बढाउनुपरेको आजपा केन्द्रीय सदस्य सापकोटाले बताए ।