बिदा नलिएको भन्दै पाँच प्रहरीलाई सोधियो स्पष्टीकरण



खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले ५ जना प्रहरीलाई बिदा नलिएको भन्दै स्पष्टीकरण सोधेको प्रकरण अहिले चर्चाको विषय बनेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले पुस २६ मा आफु मातहतका प्रहरी सहायक हवल्दार सविन थक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रुपेश तामाङ र अनिल परियारलाई बिदा नलिएको भन्दै स्पष्टीकरण सोधेको थियो ।


स्पष्टीकरणमा प्रहरी नियमावली २०७१ ( संशोधन सहित ) मा व्यवस्था भएबमोजिम नियम अनुसारको उपभोग गर्न पाउने बिदा जानुपर्ने भएता पनि ६ महिनासम्म किन बिदा नलिएको भन्दै जवाफ माग गरिएको छ ।

स्पष्टिकरण सोधिएको पत्रमा ६ महिनासम्म बिदा नजानुपर्ने कारण मात्र सोधिएको छैन बिदा लिई आफ्नो घरायसी समस्या समाधान गर्नुपर्छ भन्ने जानकारी छ वा छैन ? भनेर प्रश्न समेत सोधिएको छ । साथै स्पष्टिकरणमा आफ्नो घर परिवारको रेखदेख गर्ने तपाईको कर्तव्यभित्र पर्छ भन्ने कुराको जानकारी छ वा छैन ? भन्ने प्रश्न समेत सोधिएको छ ।

स्पष्टीकरण पत्रमा २४ घण्टामा सन्तोषजनक जवाफ पेश गर्न निर्देशन दिइएको छ भने चित्त बुझ्दो जवाफ नआए प्रहरी नियमावलीबमोजिम कारबाही हुनेसमेत चेतावनी दिइएको छ ।