काठमाडौँ । बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब तीन करोड लिटर (३० हजार किलोलिटर) पानी पुनःभरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । काठमाडौँ महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा प्रणाली विकास गरेको हो ।
रिचार्ज प्रणालीमा २१ वटा फिल्टर च्याम्बर, २१ वटा रिचार्ज इनार, दुईवटा डिसिल्टिङ चेम्बर, ७५ फिट अग्लो रिचार्ज ट्रेन्च र सातवटा बाँसका चेक ड्याम बनाइएको छ । निर्माण साझेदारले संयुक्त रुपमा आज प्रणाली र यसको सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई हस्तान्तरण गरेका छन् ।
परियोजना बुझिसकेपछि उपप्रमुख डंगोलले बालाजु क्षेत्रमा पानीको प्राकृतिक वहाव बढ्ने अपेक्षा व्यक्त गरिन् । ‘सहरमा पानीको अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा पानीको अभाव आउँछ । यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्धन गरिरहेका छौँ ।’ उनले भनिन्, ‘काठमाडौँमा सबैभन्दा धेरै पानीको अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनःभरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’
कार्यक्रममा वाटर एडका नेपाल निर्देशक जेसम थोमस, बोटलिङ इन्भेष्टमेन्ट ग्रुपका स्टेफिन यिपले स्वच्छ पानीको पहुँच बढाउन साझेदारीका थप काम गर्न सकिने उल्लेख गरे ।
तीब्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गराउन यसप्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ । परम्परागत रुपमा काठमाडौँबासीले पानीका प्रमुख स्रोतका रुपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनःभरण हुने गथ्र्यो । जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो । पछिल्लो समयमा अत्याधिक भूमिगत पानी दोहन हुन थाल्यो ।
अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गयो । जलवायु परिवर्तनका कारण वर्षा हुने समय र प्रक्रिया परिवर्तन भयो । पछिल्ला बर्षाहरु छोटो अवधिमा अधिक पानी पर्ने हुनाले प्राकृतिक रुपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ ।