काठमाडौं । दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानविनका लागि गठित जाँचबुझ आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बयानका लागि बोलाएको छ । उक्त घटनामा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो ।
कोरिया भाषा परीक्षा सम्बन्धी विवादमा परीक्षार्थीहरुले आन्दोलन गरिरहेका थियो । आन्दोलनका बेला सुरक्षा संवेदनशीलतालाई समेत ख्याल नगरी मन्त्री ज्वालाले सोही बाटो प्रयोग गर्दा भीड उत्तेजित बनेको थियो । सो क्रममा आन्दोलनकारीहरुले मन्त्री ज्वाला सवार गाडीसमेत जलाएका थिए ।
दुई जना युवाहरुको ज्यान जानेगरी भएको उक्त घटनाको छानविनका लागि सरकारले गत पुस १६ गते पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो ।