बरहथवा घटनामा प्रशासन र आन्दोलनरत्त पक्षबीच ११ बुँदे सहमति



जनकपुरधाम। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो ।

बरहथवास्थित नगर अस्पताल मधेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउने गरी प्रक्रिया अघि बढाउने, सो अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्नेलगायत विषयमा सहमति भएको हो ।


सहमतीसँगै गएको शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको शव आजै घटनास्थलबाट उठ्ने भएको छ ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलित दलका नेता र पीडित पक्षबीच सहमति भएको हो ।

गत शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएपछि अहिलेसम्म पनि सो क्षेत्र तनावग्रस्त रहेको छ र प्रशासनले लगातार कर्फ्यू जारी गरेको छ ।

  • हेर्नुहोस् सहमतिका बुँदाहरु१. आन्दोलनको क्रममा असमायिक निधन भएका युवा व्यवसायी जयशंकरप्रति श्रद्धाञ्जली र परिवारप्रति सम्वेदना व्यक्त
    २.गृहमन्त्रालयबाट गठित छानबिन समितिलाई स्वतन्त्र निष्पक्ष रुपमा घटनाको छानविन गर्न सहयोग गर्ने
    ३.मृतक परिवारको एकजनालाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने
    ४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल संचालन सम्बन्धमा बरहथवा नगरप्रमुख र मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सहकार्य एवं छलफलबाट टुंग्याउने
    ५. मृतकको शालिक अस्पताल प्रांगण वा व्यवसायीले चाहेको ठाउँमा स्थापना गर्ने
    ६.पाँचदलीय गठबन्धनले सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सहकार्य र सहयोग गर्ने
    ७. मृतकको नामबाट प्रक्रिया पर्याइ प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने
    ८. दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउने
    ९. मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउने
    १०. आन्दोलनमा भएको क्षति सम्बन्धित निकायबाट भराउन जिल्ला प्रशासनबाट सिफारिस गराउने
    ११. मृतकको शवलाई तत्काल पोस्टमार्टम गरी व्यवस्थापन गर्ने