काभ्रेपलाञ्चोक। विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान तथा संरक्षणार्थ पुनःअभियान थालिने भएको छ ।
बजेट अभावमा चार वर्षदेखि रोकिएको अनुसन्धान एवं चेतनामूलक अभियान यस वर्षदेखि पुनः थालिने भएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ ।
वाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा बर्सेनि विनियोजन हुने रकम रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान चार वर्षदेखि हुन सकेको थिएन ।
मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि रु चार लाख रकम विनियोजन गरेपछि सालक संरक्षणार्थ अभियानको कार्यक्रम बनाइने वन कार्यालयका प्रमुख शिवप्रसाद सापकोटाले बताए ।
उनका अनुसार अघिल्ला वर्षमा गरिएका क्रियाकलापको समीक्षा गरी कुन ढाँचामा अभियान सुरु गर्नेबारे अब छलफल गरिने छ । संरक्षण अभियानअन्तर्गत कार्यालयले चार वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यालयका अनुसार प्रदेश सरकारले आव २०७४/७५ मा रु पाँच लाख र आव २०७५/७६ मा रु दुई लाख बजेट पठाएको थियो । तत्कालीन समयमा कुन–कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको थियो ।
विसं २०७८ असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा एउटा सालक भेटिएको थियो । उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमै छाडिएको थियो । पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्लोलिन’ रहेको कार्यालयको भनाइ छ ।
नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्लोलिन’नै रहेका छन् । सालकको उपयक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा तीन वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम गरिएको थियो ।
जिल्लाका अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ ।
कार्यालय प्रमुख सापकोटाले सालकले बालीका कमिला र धमिरा खान्छ भने पर्यावणलाई जोगाउन मद्दत पुराउँछ । यसले मानिसलाई भने आक्रमण गर्दैन । सालकसँग १५ सेन्टिमिटर टाढाका कीरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ ।
पनौतीको बल्थलीस्थित समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण इकाइका अनुसार स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा सालकको पुरानाभन्दा नयाँ प्वालको सङ्ख्या कमी देखिएको छ ।
इकाइले स्थानीय दुई सय पचास विद्यालयका विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराइसकेको छ भने इकाईकै पहलमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए ।
कालो सालकको काभ्रेपलाञ्चोकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुंखर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको अनुसन्धानबाट खुलेको कार्यालयको भनाइ छ ।
अनुसन्धानकर्ता प्रतिभा कसपाल कालो सालकको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने देखिएको बताउछन् ।
एसिया र अफ्रिका महादेशमा आठ प्रजातिका सालक पाइन्छन् । त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिमध्ये नेपालमा तामे र कालो सालक छन् ।
सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी समेत हुनेगरेको घटनाक्रमले देखाएको छ ।वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
अध्ययन प्रतिवेदनअनुसार एउटा वयष्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ ।
यसको प्राकृतिक प्रजनन् पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको विज्ञहरु बताउँछन् ।