पुटिन विरोधी कवि रुबिनस्टाइनको दुर्घटनामा निधन



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विरोध प्रदर्शन गर्ने सोभियत भूमिगत साहित्यिक परिदृश्यका प्रमुख व्यक्ति एवं कवि लेभ रुबिनस्टाइनको कारको ठक्करबाट घाइते भएको केही दिनपछि निधन भएको छ ।

रुबिनस्टाइनलाई रुसी अवधारणावादी आन्दोलनको संस्थापकमध्ये एक मानिन्छ । यो एउटा साहित्यिक ‘अभान्ट–गार्डे’ थियो जसले सन् १९७०–१९८० को दशकमा समाजवादी यथार्थवादको आधिकारिक सिद्धान्तको उपहास गरेको थियो ।


“मेरा बुबा लेभ रुबिनस्टाइनको आज निधन भएको छ”, छोरी मारियाले रुसी सञ्चारमाध्यमले उठाएको ‘लाइभजर्नल’ ब्लगमा लेखेकी छन् । कविले छिद्र परेका कार्डहरूमा छोटा कविताहरू लेखेर र रङ्गमञ्चमा ‘नोट कार्ड कविताहरू’ पढेर कविता र रङ्गमञ्चको बिचमा आफ्नै शैली निर्माण गरेका थिए ।

लाइब्रेरियनका रूपमा उहाँको दैनिक कार्य र सोभियत कालको नोकरशाहीले उनको प्रदर्शनलाई प्रेरित गर्यो जसमा हास्यास्पद कमेडी र सुधारको संयोजन थियो ।

मानवअधिकार सङ्गठन मेमोरियलले लेखकलाई श्रद्धाञ्जलि दिँदै भनेको छ, “काव्यात्मक, चतुर र व्यङ्ग्यपूर्ण उहाँ आफैंमा विश्वलाई बुझ्ने माध्यम हुनुहुन्थ्यो ।” सोभियत सङ्घको पतनपछि उनले ख्याति पाए र उनको कामलाई व्यापकरूपमा प्रकाशित गरियो ।

रुबिनस्टाइन पुटिन सरकारको खुलेआम दुश्मन थिए र क्रेमलिनको बढ्दो दमन तथा मानवअधिकारको उल्लङ्घनविरुद्ध नियमितरूपमा विरोध गर्थे । पुटिनले युक्रेनमाथि व्यापकस्तरमा आक्रमण सुरु गरेपछि रुबिनस्टाइनले अन्य प्रसिद्ध लेखकहरूसँग मिलेर ‘आपराधिक युद्ध’ र क्रेमलिनको ‘झुट’ को निन्दा गरिएको खुला पत्रमा हस्ताक्षर गरेका थिए ।

७६ वर्षीय रुबिनस्टाइनलाई जनवरी ८ मा मस्कोमा एक कारले ठक्कर दिएको थियो र गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । मस्कोको यातायात विभागका अनुसार रुबिनस्टाइनले सडक पार गर्दै गर्दा चालकले गति सुस्त बनाएनन् ।