पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर



काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ।

कार्यकारी निर्देशक पुनविरुद्ध पौष २६ गते भरत मरासिनीले नियुक्ति खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको उच्च अदालत पाटनले जनाएको छ।


कार्यकारी निर्देशक पदमा नियुक्तपश्चात उनको योग्यता र मापदण्डको विषयलाई लिएर गौश्वाला क्षेत्रमा विरोधसमेत भएको थियो। माओवादी केन्द्रकी केन्द्रीय सदस्य पुन पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारसमेत थिइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा पौष ४ गते बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।