पथरी शनिश्चरेमा नगर खेलकुद महोत्सव हुँदै



पथरी (मोरङ) । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई मध्यनजर गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८०’ मा सात विधामा प्रतिस्पर्धा हुने नगरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

पहिलो पटक ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ खेलकुदमा नयाँ आयमको सुरुआत गर्न लागिएको नगर कार्यालयले जनाएको छ । नगरभित्र रहेका खेलाडीको हौसला प्रदान गर्दै केही नयाँ कार्यक्रम गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको खेलकुद विकास समिति संयोजक दिपक राईले बताए ।


“सकेसम्म बढी खेल समावेश गर्ने कोशिस गरेका छौँ । पहिलो पटक भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको छ”, संयोजक राईले भने । महोत्सव नगरकै गौरव भएकाले यसलाई सफल बनाउन सम्पूर्ण नगरवासीलाई सहयोग गर्न उनले अनुरोध गरे । उनका अनुसार माघ ६ गते हुने शनिबार प्रस्तावित पथरी रङ्गशालामा उद्घाटन हुने कार्यक्रमको अन्तिम चरणमा पुगेको छ ।

उक्त प्रतियोगितामा फुटबल, तेक्वान्दो, कराते र मिनि म्याराथन (दौड) मा महिला र पुरुष दुवै विधामा खेल हुने समितिका सदस्य सचिव तथा नगर शिक्षा तथा खेलकुद शाखाका अधिकृत नवीन खुलालले जानकारी दिए । उनका अनुसार बुद्धिचाल (चेस), भलिबल र क्रिकेटमा पनि प्रतियोगिता हुनेछ । बुद्धिचाल खुला रहने छ भने भलिबल र क्रिकेट पुरुष विधामा मात्रै प्रतिस्पर्धा हुनेछ ।

१४ लाख ३१ हजारको बजेटमा हुन लागेको महोत्सवमा फुटबलका लागि १० समूह, क्रिकेटमा नौ, भलिबलमा सात समूहले सहभागिता जनाएका छन् । करातेमा पुरुष ३७ र महिला २०, तेक्वान्दोमा ५० र बुद्धिचालमा हालसम्म ८० जनाको नाम दर्ता भएको छ । त्यस्तै, मिनी म्याराथनका लागि ३० जनाले नाम दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

फुटबल प्रतियोगितामा विजेता समूहले एक लाख, उपविजेताले ५० हजार, महिलातर्फका विजेताले १० हजार र उपविजेताले पाँच हजार नगदसहति ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । भलिबल खेलमा प्रथम हुनेले २५ हजार र दोस्रोले १५ हजार, क्रिकेटमा पहिलोले २० र दोस्रो १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । कराते र तेक्वान्दोमा प्रथम पुरस्कार पाँच हजारका दरले रहने छ भने मिनी म्याराथनमा प्रथम छ हजार, दोस्रो चार हजार र तेस्रो हुनेले दुई हजारका दरले नगद पुरस्कार पाउनेछन् ।

फुटबलमा प्रत्येक खेलमा म्यान अफ दी म्याच र विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सले पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनमा फुटबल, क्रिकेट र भलिबल प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ ।