नवलपरासी । पूर्वी नवलपरासीमा एकजना गर्भवती महिलाको हत्या भएको छ । आज (आइतबार) बिहान हुप्सेकोट गाउँपालिका–६ स्थित एक घरमा गर्भवती महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
डिएसपी पौडेलका अनुसार ३४ वर्षीया चनिसरा लम्कामगरको हत्या भएको हो । उनको हत्या गरेको आरोपमा ३३ वर्षीय उनका श्रीमान शेरबहादुर लम्कामगरलाई प्रहरी पक्राउ गरेको छ ।
घटनाबारे स्थानीयले आइतबार बिहान ७ बजेतिर प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी पौडेलको टोली घटनास्थलमा खटिएको थियो । डिएसपी पौडेलका अनुसार आरोपित श्रीमान शेरबहादुर मानसिक रुपमा अस्वस्थ देखिएका छन् ।
प्रहरीका अन्ुसार गएराति श्रीमान–श्रीमतीसँगै खाना खाएर सुतेका थिए । राति एक बजेतिर एक्कासी श्रीमानले श्रीमतीमाथि खुर्पा प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
शेरबहादुरको टाउकोमा समेत चोट देखिएको छ । यद्यपि, उनले भनेजस्तो घटना भएको नदेखिएको डिएसपी पौडेलले बताए । होशमा आएपछि आफ्नी श्रीमती मृत अवस्थामा देखेपछि शेरबहादुर नजिकै रहेका आफ्ना आमाबुवालाई बोलाउन गएका थिए ।
मृतक चनिसरा गर्भवती पनि थिइन् ।
उनको यही महिना डेलिभरी हुन लागेको थियो । डेलिभरी हुन लागेकाले हल्ला भएको भन्ने सुनेर स्थानीय उक्त घरमा पुगेका थिए । तर, उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा श्रीमान शेरबहादुर पनि घटनास्थलमै थिए । अहिले उनी प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।