दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौँ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्का लागि अनुकरणीय रहेको बताए ।


“द्वन्द्वबाट स्थापित नेताका रूपमा सम्बोधन गर्दैगर्दा मलाई के विश्वास छ भने शान्ति सम्भव छ । दृढ विश्वास र इच्छाशक्तिले राष्ट्र र विश्वव्यापीरूपमा रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिन्छ”, प्रधानमन्त्री दाहालले भने ।

नेपालले आफ्नो विकास प्रयासमा धेरै चुनौती सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।

नेपालले स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको जानकारी दिँदै उनले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, आपसी सम्मान, आपसी हित र विवादको शान्तिपूर्ण समाधानमा आधारित रहेको स्पष्ट पारे । “असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो”, प्रधानमन्त्री दाहालले भने ।

शान्तिका प्रतीक गौतम बुद्धले दीक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्ने जनाउँदै उनले विविधतामा एकता र वसुधैव कुटुम्बकम् अर्थात् ‘विश्व एउटै परिवार’ नेपालीको जीवन पद्धति बनेको बताए । प्रधानमन्त्री दाहालले भने, “यी मूल्य, मान्यता हाम्रा सामाजिक–सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदै आएका छन् ।”

नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्दछ भन्दै प्रधानमन्त्री दाहालले युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी रहेको बताए । “मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहन्छ”, प्रधानमन्त्री दाहालले भने ।

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको हितमा ः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको साझा हितमा रहेको बताएका छन् । युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

“हिमालयको देशबाट आएको हुनाले यो महत्त्वपूर्ण सम्मेलनमा हिमालको विषयमा केही भन्नैपर्छ, हिमाल विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर हो । यसले सबै जीवित प्राणीलाई विश्वव्यापी सेवा प्रदान गर्दछ । तर उनीले ठूलो पीडा भोगिरहेका छन्”, प्रधानमन्त्री दाहालले भने ।

उनले हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको बताए । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको विनाशकारी प्रभावका कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीका स्वरुप र यसले कैयनको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडालाई नजिकबाट महसुस गरिएको बताए ।

साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गर्न आह्वान गर्दै प्रधानमन्त्री दाहालले कसैलाई पनि पछि नछोडी न्यायपूर्ण, समतामूलक, शान्तिपूर्ण, दिगो र समृद्ध विश्व निर्माण गर्न ‘नाम’लाई बलियो बनाउनुपर्ने बताए ।

समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री
यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक र कूटनीतिक माध्यमबाट शान्तिको स्थायी समाधान खोज्ने समय होः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘नाम’का निरन्तरको मूल्य, मान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारे । “नाम आफैँमा सहयोगलाई प्रगाढ बनाउने थलो हो । सहयोगको माध्यमबाट विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्छ”, उनले भने ।

समृद्धि थोरैका लागि सुअवसर हुन नसक्ने तथा सामूहिक प्रयासको फल प्रत्येक देश र सबैलाई उपलब्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले सबै देशले समृद्धिलाई सकेसम्म समानरूपमा बाँडफाँट गर्न सक्ने वातावरण बनाइनुपर्ने बताए ।

“नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो”, प्रधानमन्त्री दाहालले भने ।