काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै मिलेर संविधानको कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् । माघे संक्रान्तिको अवसरमा सोमबार बिहान संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूलाई शीतलनिवास बोलाएर शुभकामना आदानप्रदान गर्ने क्रममा राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा सबै राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।
संविधान कार्यान्वयन नगर्दा जनतामा निराशा छाएको भन्दै उनले संविधानले परिकल्पना गरेका विषयलाई कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले आफूलाई भेट्न आउने विदेशीहरुले नेपालको संविधानको मुक्तकण्ठले प्रशंसा गरेका भन्दै राष्ट्रपतिले अब पछाडि फर्कने अवस्था नरहेको बताए ।
उनले भने, ‘संविधान कार्यान्वयनमा जाऔं। जनताको निराशालाई आशामा परिणत गरौं। यो संविधानलाई कार्यान्वयन नगरेर अहिले निराशा बढेको छ। जनताले पछाडि फर्किन चाहेका छैनन् भन्ने मैले बुझेको छु। जनताले अगाडि बढ्न चाहिराखेका छन्।’
उनले यसका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए । राष्ट्रपति पौडेलले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्नुपर्नेमा जोड दिए ।