त्रिवि उपकुलमा तीन वर्षे अनुभव हटाउन प्रधानमन्त्रीकाे निर्देशन, बाबुरामलाई भिसी बन्ने बाटो खुल्ला ?



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।

त्रिविको कुलपति समेत रहेका प्रचण्डले शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।


याे संगै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाबुराम भट्टराईको इन्ट्री हुने सम्भावना बढेको छ । लामो समयदेखि बाबुराम टियूको भिसी बन्नेबारे चर्चा चल्ने गरेको थियो । तर, आज प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष,महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने सूचना प्रकाशित गरिएको थियो ।

शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गरेको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएका हुन् ।

त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको पनि चर्चा चल्दै आएको छ । तर, शुक्रवार प्रकाशित विज्ञापनको प्रावधानले भट्टराईको त्रिवि प्रवेश गर्ने बाटो बन्द हुने देखिएको थियो ।प्रधानमन्त्रीको निर्देशनअनुसार सूचना जारी भएमा भट्टराईलाई पुनः त्रिवि प्रवेशको बाटो खुला हुनेछ ।

नेपालकै सबैभन्दा जेठो र विरासत बोकेको त्रिविको उपकुलपतिमा प्रधानमन्त्री प्रचण्डले ग्रिन सिग्नल दिएमा बाबुरामको इन्ट्री हुने सम्भावना प्रवल छ । यसलाई धेरैले बाबुरामको ‘ग्रेसफूल एक्जिट’ को रुपमा लिएका छन् ।