तेह्रथुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीनजना घाइते



तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । म्याङ्लुङ-वसन्तपुर सडक खण्डको काँडेबाट लसुने बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर बुधवार साँझमा दुर्घटना परेको हो ।

दुर्घटनामा झापा मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।


सङ्खुवासभाको मादी नगरपालिका–४ का दिनेश तामाङ, झापाका समीर चौधरी र विष्णु थामी घाइते भएका हुन् । गम्भीर घाइते अवस्थाका थामीको थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घाइते अन्य दुईजनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ ।