जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा



पोखरा । पोखरामा जारी आहा रारा गोल्ड कप फुटबलमा जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार पोखरा रंगशालामा निर्धारित र अतिरिक्त समयमा मनाङ मस्र्याङ्दी र जावलाखेल युथ क्लबले एक एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सूटआउटमा पुगेको हो ।

पेनाल्टीमा जावलाखेल ७–६ गोल अन्तरले विजयी भयो । निर्धारित समयमा ५५ औं मिनेटमा हिसुव थपलियाले गोल गर्दै जावलाखेल युथ क्लबलाई अग्रता दिलाएका थिए । निर्धारित समय सकिन १ मिनेट बाँकी रहेका बेला राजेश परियारले गोल गरेपछि खेल बराबरीमा आयो । त्यसपछि थप गरिएको ३० मिनेटमा पनि गोल ननिस्कएपछि पेनाल्टी सूटआउटभा गएको थियो । जावलाखेलले पेनाल्टी सूटआउटका लागि किपर परिवर्तन गरेको थियो ।


निर्धारित र अतिरिक्त समयसम्म खेलेका अनिश देउलाको ठाउँमा उनेश चौधरीलाई मैदान प्रवेश गराएको थियो । जावलाखेलका लागि विशाल तामाङ, पुस्कर खड्का, छिरिङ लामा, प्रवेश कुँवर, हरिशराज भट्ट, शिशिर लेखी र प्रदीप बुढाथोकीले गोल गरेका थिए ।

मनाङका जय गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ, अस्वीन घोरसैनी, लक्षु थापामगर र जियारथ शेखले गोल गरे । मनाङका निशान लिम्बू, सुरज सिंह र रणदीप पौडेलको प्रहार खेर गएको थियो । यसैगरी जावलाखेलका हिसुव थपलिया र सेवान्त थापाको प्रहार मिस भएको थियो ।