जापानमा भूकम्प गएको पाँच दिनपछि ९० बर्षकी वृद्धाको सकुशल उद्धार



सुजु ।  मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ । 

सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम बर्षा र आँधीबेहरीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने बताएको छ । जापानमा जनवरी १ मा गएको ७.५ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको र अन्य २२२ जना हराइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।


भूकम्पको झट्का र त्यसपछिका पराकम्पनले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए ।  विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ । तर, सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिबार उद्धार गरिएको छ ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ र अस्पतालमा लानु अघि उनले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको प्रहरी फुटेजमा उद्धारकर्ताहरूले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिइकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ ।  टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीहरूले एक वृद्धाको उद्धार गरेको पुष्टि गरे पनि थप विवरण दिन चाहेनन् । 

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारणत्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् । 

जापानको मुख्य होन्शु टापूको समुद्री तटमा रहेका प्रायद्वीपमा आइतबार दिउँसोसम्ममा चिसो वर्षाको सम्भावना रहेको बताइएको छ ।