चोरीको अभियोगमा जेल परेर छुटेका एक व्यक्ति फेरि चोरी अभियोगमै पक्राउ



काठमाडौं । प्रहरीले चोरीको अभियोगमा जेल परेर छुटेका एक व्यक्ति फेरि चोरी अभियोगमै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले दोलखाका रघुनाथ बस्नेतलाई पक्राउ गरेको हो ।

ललितपुरका विभिन्न स्थानमा चोरीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले ललितपुर महानगरपालिका–३ झम्सिखेल बस्ने ठाकुरनाथ ढकालको घरमा चोरी गरेको प्रहरीले जनाएको छ ।


ढकालको घरबाट पुस १ गते राति कोही नभएको बेला करिब ३७ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । त्यस्तै उनले कात्तिक १५ गते सानेपाका तोपबहादुर थापाको घरमा बस्ने जर्मन नागरिक ड्यानिक फुच्सको कोठाबाट तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार नगद चोरी गरेको आरोप छ। भनिमण्डलस्थित उषा श्रेष्ठको घरमा बसेका नर्वेजियन नागरिक जेन्रिक सब्स टड्सरडको ३० हजार नगद र कपडाहरू चोरी भएको थियो ।

यसैगरी मंसिर १७ गते ललितपुर–२ सानेपामा डेरामा बस्ने सुप्रिया राईको कोठाबाट २४ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनले चोरी गर्न जाँदा एउटा कपडा लगाउने र फर्कदा छुट्टै कपडा लगाएर फर्किने गरेका थिए । चोरी मुद्दामा मात्रै उनी ९ पटक पक्राउ परिसकेका छन् । उनीविरूद्ध अभद्र व्यवहार कसुरमा तीन पटकसहित १२ पटक मुद्दा चलिसकेको प्रहरीले जनाएको छ ।