खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का



पाटन (ललितपुर) । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएका  छन् । 

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज बुद्धि विकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार पार्नका लागि इमानदारी तथा जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 


“खेल क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी छ । आफू सरकारको जिम्मेवारीमा रहँदा यस क्षेत्रको विकासका लागि इमानदारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु”, उपप्रधानमन्त्री खड्काले भने, “तीनै तहको सरकार मिलेर खेलकुद पूर्वाधार निर्माण गर्नुपर्छ । 

यसका लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।” उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई मित्रवत् प्रतिस्पर्धामा लाग्न आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरे । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य मदनबहादुर अमात्यले खेलकुदका माध्यमबाट खेलाडीले नेपालप्रतिको भावना उजागर गरेकामा हार्दिक आभार व्यक्त गरे ।

ललितपुर क्षेत्र नं १ का सांसद उदय शमशेर राणा, क्षेत्र नं ३ का सांसद डा तोसिमा कार्की, जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयालले बर्सेनि हुने यस्ता क्रियाकलाप र प्रतियोगिताले खेलाडीलाई आकर्षित र हौसला प्रदान गरेको बताएका थिए ।

उनीहरुले प्रतियोगितामा सहभागिता जनाउनु नै विजयको पहिलो सुरुवात भएको बताउनुहुँदै सफलताको शुभकामना व्यक्त गरे ।