खाद्यले लक्ष्य अनुसार धान खरिद गर्न सकेन, चामल किन्ने तयारी



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष लक्ष्य अनुरूप धान खरिद गर्न सकेको छैन । धान खरिद गर्न नसक्दा कम्पनीले करिब २ लाख ३० हजार क्विन्टल चामल खरिद गर्ने तयारी गरेको कम्पनीका अधिकृत देवेन्द्र राईले बताए ।

कम्पनीले चालु आर्थिक वर्षमा ५ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । तर ४६ हजार ६ सय १५ क्विन्टल मात्रै धान खरिद गर्न सकेको हो । नेपाल सरकारले निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्य पाएर किसानले सरकारीभन्दा निजी क्षेत्रको धान खरिद गर्नेलाई धान बेचेकाले लक्ष्य प्राप्ति हुन नसकेको राईले बताए ।


कम्पनीले ११ वटा शाखाबाट पछिल्लो पटक ४६ हजार ६ सय १५ क्विन्टल धान खरिद गरेको छ । यो वर्ष खाद्यले देशभरका ११ वटा जिल्लास्थित शाखा कार्यालयबाट धान खरिद गरेको हो । झापाको बिर्तामोड, मोरङको विराटनगर, सिराहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगन्ज, बर्दियाको राजापुर, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र जुम्लाबाट कम्पनीले धान खरिद गर्दै छ ।

नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार धान खरिद गरिएको राईले बताए । सरकारले चालु आर्थिक वर्षका लागि मोटा धान तीन हजार एक सय ९८ रुपैयाँ प्रतिक्विन्टल र मध्यम खाले धान तीन हजार तीन सय ६२ रुपैयाँ प्रतिक्विन्टल समर्थन मूल्य तोकिएको छ ।