क्रिकेट पिचमा ब्याट्सम्यानको मृत्यु



काठमाडौँ । भारतको नोएडामा एक स्थानीय क्रिकेट खेलको क्रममा ब्याट्सम्यानको मृत्यु भएको छ । ब्याटिंग गरिरहेका ३४ वर्षीय ब्याट्सम्यान विकास नेगीको खेलका क्रममा हृदयघात भएपछि मैदानमै मृत्यु भएको हो । 

पिचमै लडेका नेगीलाई साथी ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले तत्काल सीपीआर दिएपानी उनको घटनास्थलमै मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  मृतक नेगी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए ।


नोएडामा कर्पोरेट लिगको क्रममा माभेरिक्स ११ र ब्लेजिङ बुल्सबीचको खेल चलिरहेको थियो । माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो । उमेश कुमार र नेगी क्रिजमा थिए । खेलको १४औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । नेगी नन-स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए । उमेश पुग्नुअघि नै नेगी पिचमा लडेका थिए ।

यो देखेर दुवै टोलीका खेलाडी पिचमा दौडिए । कतिपय खेलाडीले नेगीलाई जीवन बचाउनको लागि सीपीआर दिए । उनलाई केही बेर भुइँमा बस्न लगाइयो । उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई नोएडाको नजिकको अस्पतालमा लगिएको थियो । तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो, अस्पताल पुग्नेबित्तिकै उनलाई मृत घोषित गरिएको थियो।

हृदयघात हुनुअघि नेगी आफ्नो टोलीका लागि ७ रन बनाएर ब्याटिङ गरिरहेका थिए । उक्त खेल युट्युबबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । 

सो घटनापछि प्रतियोगिता रोकिएको छ ।