कोशी र मधेशमा मतदान सकियो, १ सांसद र २ पालिका प्रमुखले गरेनन् मतदान



काठमाडौं । राष्ट्रिय सभाका १९ सिटका लागि भईरहेको मतदान अन्तिम चरणका पुगेको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

यसैबीच मधेश प्रदेश र कोशी प्रदेशमा मतदान सम्पन्न भएको छ । कोशीमा २ स्थानीय तहका प्रमुख मतदानमा अनुपस्थित भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार अनुपस्थित भएका हुन् ।


साम्पाङले कार्यव्यस्तताका कारण मतदान गर्न आउन नसकेको बताए । गच्छदार मुटुसम्बन्धी बिरामी भई विराटनगरस्थित अस्पतालमा भर्ना भएका छन् भने झापाको झापा गाउँपालिकाका प्रमुख जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण निर्वाचन आयोगले उनको नाम मतदाता नामावलीबाट हटाएको थियो ।

त्यस्तै मधेशमा पनि मतदान सकिएको छ । मधेशमा १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७४ मतदाताले मतदान गरिसकेका छन् । मधेशमा लोसपाबाट निर्वाचित सांसद अभिराम शर्माले भने मतदान गरेका छैनन् । लोसपाका प्रदेश संसदीय दलका नेतासमेत रहेका शर्मालाई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।