काठमाडौँ । कोशी प्रदेशसभाको सभामुख पदमा पार्टीका सांसदलाई अगाडि सारेकोमा राप्रपा केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आपत्ति जनाएका छन् ।
कोशी प्रदेश सभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएर पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेपछि विज्ञप्ति जारी गर्दै लोहनीले विरोध जनाएका हुन् ।
पार्टी बैठकमा कोशी प्रदेशसभाको सभामुख लिन नहुने भनेर सहमति गर्ने अनि कसैलाई जानकारी नै नदिई सभामुखमा दाबी गर्ने निर्णयबारे केन्द्रीय कार्यसम्पादन समितिमा छलफल हुनुपर्ने माग पनि लोहनीले गरेका छन् ।
केन्द्रीय निर्देशन समितिलाई पार्टीलाई विभिन्न विषयमा निर्देशन दिनसक्ने अधिकार रहेबमोजिम नै आफूले विज्ञप्ति जारी गरेको लोहनीले बताए । कोशी प्रदेश सभाको सभामुख लिने विषयमा पार्टीमा कुनै निर्णय नभएको र नेताहरूलाई जानकारी नदिइएको पनि उनले बताए ।