काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशको सभामुखका विषयमा पार्टीभित्र छलफल गरेर निर्णय लिने बताएका छन् ।
३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले कोशीमा सभामुख लिएको विषयमा पार्टीमा भिन्न मत देखिएको भन्दै छलफल गरेर निर्णय लिने बताएका हुन् ।
कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बर बहादुर विष्ट सबै दलको समर्थनमा निर्बिरोध निर्वाचित भएपछि राप्रपामा विवाद शुरु भएको छ । राप्रपाका नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, धवलशमशेर जबरा लगायतका नेताहरुले सभामुख पद लिन नहुने र तुरुन्त राजीनामा दिनुपर्ने बताउदै आएका छन् ।
जलपान कार्यक्रममा अध्यक्ष लिङदेनले पार्टीले अघिसारेका विभिन्न एजेण्डा र मागमा दबाब दिन फागुनदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने उल्लेख गरेका थिए ।
राप्रपाको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपा सभापति रवि लामिछाने लगाएतका विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भएका थिए ।
राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।