इजरायल र हमासबीच अस्थायी युद्धविरामको तयारी



हमासका राजनीतिक नेताले गाजा पट्टीमा लडाई रोक्नका लागि नयाँ प्रस्तावको अध्ययन गरिरहेको पुष्टि गरेका छन् । हमास नेता इस्मेइल हानियाले इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको युद्धविरामको ढाँचामा छलफल गर्न आफ्नो समूहलाई आमन्त्रित गरिएको बताएका छन् ।

छ हप्ताको युद्धविरामको प्रस्ताव गरिएको बताइएको छ । जसमा पहिलेजस्तै इजरायली बन्धकसँग प्यालेस्टाइनी कैदीहरु साटफेर गरिनेछ । हमास स्थायी युद्धविराम र सबै इजरायली बन्दक फिर्तीका पक्षमा रहेको भए पनि इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेको हमास नेता हानियाको भनाइ छ ।


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पूर्ण विजय प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने कुरामा जोड दिनुभएको छ । अक्टोबर ७ मा दक्षिण इजरायलमा हमास बन्दुकधारीले अचानक आक्रमण गरी १३ सय जनाको हत्या गर्नुका साथै २ सय ४० जनालाई बन्धक बनाएका थिए ।

यसअघि भएको एक साता लामो अस्थायी युद्धविराममा एक सय इजरायल बन्धक मुक्त हुनुका साथै २ सय ४० प्यालेस्टायनी कैदी रिहा भएका थिए । अझै पनि एक सय ३६ इजरायली बन्धक हमासको कब्जामा रहेका छन् ।