आईसीसी यू-१९ क्रिकेट विश्वकप आजदेखि, आज दुई खेल हुँदै



काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकामा हुने यो यू–१९ विश्वकपको यो १५औं संस्करण हो । सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।

विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना हुँदैछ । यू १९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।


जसमा आज दुई खेल हुँदैछ । समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

नेपालले पनि ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ । नेपालले आइतबार पहिलो खेल आइतबार न्युजिल्याण्डसँग खेल्दैछ । यू १९ विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

जसअनुसार समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड छन् । भने ‘सी’ समूहमा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया तथा समूह ‘डी’मा नेपाल र न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान छन् ।

चार एसोसिएट राष्ट्र नेपाल, स्कटल्याण्ड, नामिबिया र अमेरिकासहित न्युजिल्याण्ड छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । आइसीसीका अनुसार फाइनल खेल ११ फेब्रुअरीमा हुनेछ ।