अभियानकै रूपमा मेला-महोत्सवहरू हुनु अर्थतन्त्रमा सुधारको संकेतः प्रधानमन्त्री



सन्धिखर्क । प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष निजी क्षेत्र निकै ठूलो संकटमा रहेकोमा यस वर्ष क्रमशः सुधार र उत्साह थपिएको बताएका छन् ।

सोमबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू बिरलै देखिने गरेकोमा यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभसंकेत भएको बताएका हुन् ।


प्रधानमन्त्रीले भने, ‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू बिरलै हुने गर्दथे। तर, यस वर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन्। विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार आएको तथा २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका छन्। अर्को वर्ष हामीले राम्रो प्रगति गर्नेछौँ।’’ सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा निरन्तर प्रयास गरिरहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘एक वर्षको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरू हासिल भएका छन्। विदेशमा रहेका र अनौपचारिक क्षेत्रका लागि श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको छ। देशका सबै सरकारी अस्पतालका १० प्रतिशत बेड गरिब, बिपन्न र असहाय नागरिकका लागि छुट्याउनुका साथै महिला, जेष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य प्रवर्धनका नमुना कार्यक्रमहरू लागू गरिएको छ। सुशासनका क्षेत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, अवैध सुन तस्करी प्रकरण लगायतका अनियमितताको छानविन गरी कानुनी कार्वाही अगाडि बढाइएको छ। नागरिकताबिहीन लाखौं नेपालीहरूलाई नागरिकता ऐन ल्याएर नागरिकता प्रदान गरिएको छ। मिटरब्याजलाई कानुनी रूपमै जघन्य अपराधको रूपमा किटानी गरी त्यसबाट पीडित लाखौं नागरिकलाई न्याय दिइएको छ।’

‘पासपोर्ट, लाइसेन्स लगायतका सेवा प्रदायक कार्यालयहरूका लामा–लामा लाइन हटेका छन्। विद्यालयमा पाठ्यपुस्तक र किसानहरूका निम्ति समयमै मल उपलब्ध गराइएको छ। विश्वविद्यालयहरूमा गुणात्मक सुधार ल्याउन खुला प्रतिस्पर्धाको प्रक्रिया सुरू भई नै सकेको छ’ उनले भने, ‘विगतका घाटा ब्यहोरेर टाट पल्टिन लागेका सार्वजनिक संस्थानहरू नाफामा गएका छन्।’

आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति भएको र त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढेको प्रधानमन्त्रीले बताए ।

उनले भने, ‘भारत भ्रमण, विश्व खाद्य सम्मेलन, चीन भ्रमण, संयुक्त राष्ट्रसंघको महासभा, विश्व जलवायु सम्मेलन (कोप–२८), संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण लगायतबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति हुनुका साथै नेपालको आर्थिक विकासमा महत्वपूर्ण पहल लिइएको छ । केही दिनमा युगान्डामा हुने असंलग्न राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नेतृत्व गरी मैले सम्बोधन गर्दैछु। यसले पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रभाव थप बिस्तार हुने मैले विश्वास लिएको छु।’