काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट भागेका एक जना थुनुवालाई सहयोग गरेको आरोपमा तीन जनाविरुद्ध पनि मुद्दा दायर भएको छ ।
अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो ।
त्यहाँबाट उनी भक्तपुरको चाँगुनारायण-१ शान्तिनगरस्थित मोहनको कोठामा गएर थुनुवाको टिसर्ट र हत्कडीसमेत फुकालेको भेटिएपछि प्रहरीले कोठाका अन्य तीनजनालाई पनि मुद्दा चलाएको हो । त्यसै दिन कोठाबाट निस्किएका कमलले नारायणटारस्थित दिदी नाता पर्नेसँग ५ हजार रूपैयाँ सापटी मागेर जडिबुटीस्थित न्यु दोलखाली गेस्ट हाउसमा आएर सुतेको बताएका छन् । प्रहरीले भागेको भोलिपल्टै खड्कालाई उक्त गेस्ट हाउसबाट पक्राउ गरेको थियो ।
ठगी मुद्दामा ८ नम्बर इजलासको अगाडि कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला कमल फरार भएका थिए । खड्काविरुद्ध ठगी सम्बन्धी कसुरमा ५० हजार रुपैयाँ धरौटी माग भएपनि रकम जम्मा नगरेपछि अहिले केन्द्रीय कारागार, सुन्धारामा छन् ।