७० पछि साउदी अरबमा मदिरा पसल खुल्दै



बीबीसी । साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

राजा अब्दुलअजीजका एक छोराले ब्रिटिश कूटनीतिज्ञलाई मारिदिएलगत्तै त्यहाँ मदिरा प्रतिबन्धसम्बन्धी कानुन बनाइएको थियो । तर अब साउदी अरबमा गैरमुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिइन लागेको छ । राजधानी रियादमा ७० वर्षपछि पहिलो पटक खुल्ने मदिरा पसलले चुनिएका गैरमुस्लिम विदेशीहरूलाई सेवा दिने छ । यद्यपि सेवाग्राहीको वर्गमा सीमित कूटनीतिक कर्मचारीहरू मात्र पर्ने छन् ।


वास्तवमा कूटनीतिज्ञहरूले वर्षौँदेखि उनीहरूले आयात गर्ने कूटनीतिक पार्सलमा मदिरा ल्याउने गरेका थिए । तीमध्ये केही परिमाणको मदिरा कालोबजारी हुने गरेको सरकारी अधिकारीहरूले बताउने गरेका थिए ।

नयाँ नियमअन्तर्गत कूटनीतिज्ञहरूले आयात गर्ने मदिरामा कडाइ गरिने बरु उनीहरूले रियादस्थित ’डिप्लोम्याटिक क्वार्टर’मा खुल्ने पसलबाट निश्चित कोटामा मदिरा किन्न सक्ने समाचारसंस्था एएफपी र रोयटर्सले प्रकाशित गरेका छन् ।

तोकिएको पसलमा गएर मदिर किन्न केही सर्त पनि राखिएको छ । जसमा इच्छुक कूटनीतिज्ञले पहिलै नाम दर्ता गराएर सरकारबाट अनुमति लिनुपर्ने, २१ वर्षमुनिका कसैलाई पनि पसलभित्र प्रवेश अनुमति नहुने, पसलभित्र रहँदा ‘उचित पोसाक’ लगाइरहनुपर्ने, मदिरा सेवनकर्ताले आफ्ना चालक वा अन्य व्यक्तिलाई मदिरा किन्न पठाउन नपाउने तथा मासिक सीमा निर्धारण र लागु गरिने छ । सूचीकृत ग्राहकले एक महिनामा अधिकतम २४० ‘पोइन्ट’ मदिरा पाउने छन् ।

एक लिटर स्पिरिटबराबर ६ पोइन्ट हुन्छ भने एक लिटर वाइन बराबर तीन पोइन्ट र एक लिटर बियर बराबर एक अङ्क हुन्छ । अरू विदेशीले भने मदिरा पाउँदैनन् । साउदी कानुनअनुसार मदिरा साथमा राखेको वा उपयोग गरेको अपराधमा जरिवाना, जेल सजाय, सार्वजनिक रूपमा कोर्रा प्रहार वा देशनिकालासम्म हुन सक्छ ।