काठमाडौं । विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी आरोपमा राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्चले पनि सदर गरेको छ ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
काठमाडौँ जिल्ला अदालतले पाँच लाख धरौटी माग गर्ने आदेश गरेको लोकेन्द्रकुमार पौडेलको आदेश पनि उच्च अदालतले सदर गरेको छ ।
इलेक्ट्रोनिक सिगरेट भेप प्रकरणमा महरामाथि अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधमा मुद्दा चलेको छ।
इजलासले भेप प्रकरणमै पुर्पक्षका लागि थुनामा रहेका लोकेन्द्र कुमार पौडेलको हकमा भने पाँच लाख रूपैया धरौटीमा छाड्ने आदेश दिएको छ ।
गत वर्ष पुसमा चीनबाट भेपमा लुकाएर करोडौंको सुन नेपाल ल्याएर भारतीय व्यापारीले खरिद गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेपछि सरकारी वकिलले मुद्दा दायर गरेको थियो।