रुकुम पश्चिममा प्रहरीमाथि आक्रमण : दुई प्रहरी घाइते



सुर्खेत । रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा दुई जना घाइते भएका छन् । आइतबार बेलुका ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् ।

बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई १२–१३ जनाको समूहले कुटपिट गरेका थिए । त्यसपश्चात घटनास्थल पुगेको प्रहरी टोलीमाथि सम्झाई बुझाई गर्नेक्रममा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।


उनले भने, ‘घटनास्थल पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भयो । उनीहरूले प्रहरी माथि नै हातपात गर्दै ढुङ्गा समेत प्रहार गरे । हाम्रो साथीहरू घाइते हुनुभयो ।’

आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि आइतबार राति नै कोहलपुर मेडिकल कलेजमा ल्याइएको छ । प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।